फ्रेञ्च आर्मीको नाममा ठगीधन्दा । फ्रेञ्च आर्मी बनाइदिने भन्दै युवाहरुलाई पार्यो अलपत्र – Drishya Kathaa

फ्रेञ्च आर्मीको नाममा ठगीधन्दा । फ्रेञ्च आर्मी बनाइदिने भन्दै युवाहरुलाई पार्यो अलपत्र

केपी व्लः म्याग्जीनबाट साभार तस्विर

इटहरी, सुनसरीका २० वर्षीय अभिषेक एन्जल ब्रिटिश आर्मीमा भर्ती हुन चाहन्थे । २०७४ सालमा प्लस टु पास गरेलगत्तै उनी स्थानीय एक तालिम केन्द्र पुगे, जहाँ ब्रिटिश आर्मीमा भर्ती हुन इच्छुक युवालाई शारीरिक एवं मानसिक रुपले तयार पारिन्थ्यो ।

अभिषेक सम्मिलित समूहलाई तालिम दिने मुख्य प्रशिक्षक थिए, राजमान राई । त्यो तालिम केन्द्रको व्यवस्थापन भने रुविन शाहीको नाउँले चिनिने अर्कै व्यक्तिको हातमा थियो । फेसबुक प्रोफाइलमा भने रुविनको नाउँ थियो – भगवान दास ।

ब्रिटिश आर्मीमा भर्ती हुन अचेल पहिले झैं सजिलो छैन । सिट संख्या निरन्तर घट्दैछ, आकांक्षीहरू भने बढ्दैछन् । शारीरिक, बौद्धिक एवं मानसिक परीक्षामा अब्बल ठहरिने थोरै युवाले मात्रै ब्रिटिश आर्मीमा भर्ती हुन पाउँछन् ।

यसैले, अभिषेकको मनमा ब्रिटिश आर्मीमा भर्ती नभइएला कि भन्ने चिन्ता थियो । तालिमको क्रममा राई र शाही दुबैले अभिषेकको मन–पेट बुझे । र, एक दिन अभिषेकसँग भने – ब्रिटिश आर्मी नभएर के भो ! फ्रेञ्च लिजनमा त भइहाल्छ नि !

फ्रेञ्च लिजन फ्रेञ्च आर्मीअन्तर्गतको एक सैन्य दस्ता हो, जहाँ विदेशी (गैर–फ्रेञ्च) युवालाई मात्रै भर्ती लिइन्छ । नेपालका धेरै युवा फ्रेञ्च लिजनमा भर्ती भइसकेका छन् । अभिषेकलाई लाग्यो – फ्रेञ्च लिजनमा भर्ती भएर पनि लाहुरे बन्ने सपना त पूरा गर्नै पर्ला !

तर, फ्रेञ्च लिजनमा नेपालबाट भर्ती गरिँदैन । त्यसका लागि फ्रान्स नै पुग्नु पर्छ । अन्य कुनै भिसामा फ्रान्स पुगेर त्यहीँबाट मात्र फ्रेञ्च लिजनमा भर्ती हुन सकिन्छ ।

कुन भिसामा फ्रान्स जाने र फ्रेञ्च लिजनमा कसरी भर्ती हुने अल्मलमा रहेका अभिषेकसँग शाहीले भने – पैसा भयो भने सबै काम हुन्छ, चिन्ता लिनै पर्दैन ! शाहीले अभिषेकलाई साढे १४ लाख रुपैयाँमा फ्रान्स पुर्याउने र फ्रेञ्च लिजनमा भर्ती गराउने ग्यारेन्टी लिए । शाहीको नियत नबुझी अभिषेकले परिवार र आफन्तसँग खोजखाज गरी त्यति पैसा शाहीलाई दिए ।

शाहीले अन्य युवासँग पनि फ्रेञ्च लिजनमा भर्ती गराउने आश्वासन दिई पैसा उठाएका रहेछन् । अभिषेकका अनुसार, शाहीले उनीलगायत २० जना युवाबाट झण्डै २ करोड रुपैयाँ उठाएका थिए । तर, पैसा उठाएपछि शाहीले ‘भोलि उडाउँला, पर्सि उठाउँला’ भन्दै ती युवालाई महिनौँ झुलाइरहे ।

अभिषेक एन्जल भन्छन्, “फोन गर्दा फोन (शाहीले) उठाउँथ्यो, उडाउने तयारी हुँदैछ भन्दै हामीलाई मक्ख पाथ्र्यो । तर, उनको मन जाली रहेछ । बेलैमा बुझ्न सकिएन ।” रुविन शाहीले फोन उठाउन छाडेपछि भने अभिषेक लगायतका युवाले उनीविरुद्ध प्रहरीमा ठगीको उजुरी दिए । प्रहरीले राजमान राईलाई पक्राउ गर्यो। रुविन शाही भने बेपत्ता भए । अहिलेसम्म फेला परेका छैनन् ।

त्यत्रो पैसा डुबाएर अभिषेकले एउटा पाठ सिके – दलालको भर पर्न हुन्न रहेछ, फ्रेञ्च लिजनमा भर्ती हुन त आफैं मेहनत गर्नुपर्ने रहेछ ! अभिषेक अहिले सामाखुशी, काठमाडौंस्थित च्यालेञ्ज गोर्खा तालिम केन्द्रमा भर्ना भई आफ्नै मेहनतले फ्रेञ्च लिजनमा भर्ती हुने कोशिस गर्दैछन् । भन्छन्, “पैसा सकियो, तर फ्रेञ्च लिजन छिर्ने सपना मरेको छैन ।”

विदेशी सेनामा भर्ती हुन सके केही नभए पनि घरबारी जोड्न सकिन्छ र बूढेशकालमा कोहीमाथि बोझ बन्नु पर्दैन भन्ने सोचले धेरै नेपाली युवा यसतर्फ आकर्षित हुन्छन् । उनीहरूको पहिलो रोजाई हुन्छ – ब्रिटिश आर्मी । तर, ब्रिटिश आर्मीमा २३ कटेका युवालाई भर्ती लिइँदैन । भर्ती हुने अन्य मापदण्डहरू पनि निकै कडा छन् । फ्रेञ्च लिजनमा भने ३९ वर्ष नपुगुञ्जेल भर्ती हुन सकिन्छ । शैक्षिक प्रमाणपत्र पनि खोजिँदैन । शारीरिक रुपमा स्वस्थ एवं सबल भयो भने पुग्छ ।

अझ अलि पहिलेसम्म त फ्रेञ्च लिजन छिर्ने विदेशी युवाको पृष्ठभूमि पनि हेरिँदैन थियो । चारीत्रिक प्रमाणपत्र पनि खोजिँदैन थियो । यसैले, ब्रिटिश आर्मीमा भर्ती हुन नसक्ने र इन्डियन आर्मी जान नचाहने धेरै नेपाली युवा अहिले फ्रेञ्च लिजन तर्फ आकर्षित भइरहेका छन् । नेपाली सेना र नेपाल प्रहरीमा पेन्सन पकाइसकेका कतिपय युवा पनि फ्रेञ्च लिजनमा भर्ती भएका छन् ।

फ्रेञ्च लिजन प्रति नेपाली युवाको बढ्दो आकर्षणको फाइदा उठाउन कतिपय दलालहरू सक्रिय छन् । तिनैमध्ये एक रुविन शाहीले महेशलगायत युवाको २ करोड रूपैयाँ ठगिसकेका छन् ।अभिषेक जस्तै २२ वर्षीय भिषेक (नाम परिवर्तन) पनि ठगीको झण्डै शिकार भएका थिए । उनलाई एक दलालले भनेका थिए – १५ देखि २० लाख रूपैयाँ भए फ्रेञ्च लिजनमा भर्ती गराउन सकिन्छ । तर, सानैमा बुवा गुमाएका भिषेकले त्यति पैसाको जोहो गर्न सकेनन् । हाल उनी पनि च्यालेञ्ज गोर्खा तालिम केन्द्रबाटै तालिम लिँदैछन् ।

च्यालेञ्ज गोर्खा तालिम केन्द्रले भने फ्रेञ्च लिजनमा भर्ती गराइदिने ग्यारेन्टी लिनुको सट्टा त्यसका निम्ति आवश्यक पर्ने कठोर तालिम मात्रै प्रदान गर्ने हाल त्यहीँ प्रशिक्षण लिँदै गरेका सुन्दर गुरूङ बताउँछन् ।

खोटाङ घर भई हाल कपन, काठमाडौंमा डेरा गरी बस्दै आएका गुरुङका आफन्तहरू फ्रान्समा छन् । तिनकै सिफारिसका आधारमा उनी च्यालेञ्ज गोर्खामा तालिम लिन पुगेका हुन् । भन्छन्, “यहाँ हामीलाई कसैले भर्ती गराइदिने ग्यारेन्टी गरेका छैनन् ।”

च्यालेञ्ज गोर्खाले रु २५ हजार लिएर स्वीमिङ (इन्डोर–आउटडोर), सिटअप र पुसअप लगायतका शारीरिक तालिमसँगै आईक्यू टेस्ट र फ्रेञ्च भाषाको ज्ञान पनि दिने गरेको गुरुङ बताउँछन् । भन्छन्, “म त ठगिइनँ, तर दलालको भर पर्ने मेरा साथीहरू ठगिएका छन् ।”

च्यालेञ्ज गोर्खा तालिम केन्द्रका संस्थापक सोम ठकुरी आफैं पनि एक भूतपूर्व फ्रेञ्च लिजनर हुन् । त्यसअघि उनी सिङ्गापुर पुलिसमा कार्यरत थिए । सिङ्गापुर पुलिसमा नेपालीमाथि विभेद भएको महशुस गरी सन् २००८ मा जागिर छाडेको बताउने ठकुरी सन् २०१२ मा फ्रेञ्च लिजनमा भर्ना भएका थिए ।

सन् २०१८ मा उनले विधिवत् रुपमा फ्रेञ्च लिजन छाडे । नेपाल फर्किंदा फ्रेञ्च लिजनको नाउँमा ठगी बढेको बुझेर त्यसलाई रोक्न आफूले गोर्खा च्यालेञ्ज तालिम केन्द्र स्थापना गरेको ठकुरी बताउँछन् ।

उनी भन्छन्, “फ्रेञ्च आर्मी, ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसमा अरुले भर्ती गर्देर हुन्छ र ? त्यसका लागि त आफैंले मेहनत गर्नु पर्यो । सबै युवाले के बुझ्नु पर्यो भने कुनै कन्सल्ट्यान्ट् वा दलालले फ्रेञ्च लिजनमा भर्ती गराउन सक्दैन ।”

ठकुरी आफ्नो तालिम केन्द्रमा प्रशिक्षण लिन आएका एक युवा ठगिएको कथा सुनाउँछन् । उनका अनुसार, आफूलाई भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका रुपमा चिनाउने एक व्यक्तिले ती युवाको १७ लाख रुपैयाँ ठगेका थिए । प्रहरीमा उजुरी गरे पनि उनले आफ्नो पैसा उठाउन सकेनन् ।

दलालहरूले प्रायः १५ दिनमै फ्रान्सको भिसा निकाली सोझै फ्रेञ्च लिजनमा छिराइदिन्छु भन्दै धेरै युवालाई ठग्दै आएका छन् । तर, फ्रेञ्च लिजनमा दलालहरूको पहुँच भने हुँदैन । उनीहरूले प्रायः ‘फ्रान्समा मेरा मान्छे छन्’ भन्दै फ्रेञ्च लिजनमा भर्ती हुन लालायित युवालाई मूर्ख बनाउँदै आएका छन् ।

तनहुँका २६ वर्षीय रुपेश अधिकारी ट्राभल एजेन्सीको काम गर्ने क्रममा सन् २०१९ मा फ्रान्स पुगेका थिए । त्यहाँ गएपछि उनले फ्रेञ्च लिजनको बारेमा थाहा पाए । काठमाडौं फर्केर फेरि ट्राभल एजेन्सीकै काम गर्नुभन्दा फ्रेञ्च लिजन छिर्न सके भविष्य उज्ज्वल हुने निष्कर्षमा उनी पुगे । उनले फ्रेञ्च लिजनमा पहिल्यैदेखि कार्यरत केही नेपालीसँग सम्पर्क गरे, उनीहरूको सल्लाह लिए र काठमाडौं फर्किए । हाल उनी पनि च्यालेञ्ज गोर्खामा तालिम लिँदैछन् ।

उनी भन्छन्, “पैसा बुझाएर फ्रेञ्च लिजनमा भर्ती भइन्छ भन्ने हल्लामात्र हो । त्यस्तो हुन्थ्यो भने मैले किन फ्रेञ्च आर्मीको मूल ढोकाबाट फर्कनु पथ्र्यो र !” हाल रुपेश फ्रेन्च लेजनमा भर्ना भैसकेका छन् ।

काठमाडौं, कपनका २९ वर्षीय उमेश कार्की सन् २००८ मा भिजिट भिसामा फ्रान्स गएका थिए । उनले त्यहाँ फ्रेञ्च भाषा सिके र फ्रेञ्च लिजनमा छिर्न आवेदन दिए । पहिलो प्रयासमा सफल भएनन् । दोस्रो प्रयास गरे । दोस्रो चोटि भने सफल भए । उनको रेजिमेन्ट हाल फ्रान्सको राजधानी प्यारिसबाट तीन घण्टाको दूरीमा रहेको निम्स सहरमा छ ।

आफ्नै योग्यता र क्षमताको भरमा फ्रेञ्च लिजनमा प्रवेश पाएका कार्कीले सन् २०१९ मा नेपाल आउँदा थाहा पाए – यस क्षेत्रमा पनि ठगी धन्दा मौलाएको रहेछ !

सन् २०११ मा कार्कीले एक सैन्य मिशनको क्रममा फ्रेञ्च लिजनमा कार्यरत नेपाली साथी अभिषेक भण्डारीको फोटो खिचिदिएका रहेछन् । युनिफर्ममा रहेका भण्डारीको त्यो फोटो उनको अनुमतिबिनै फेसबुकबाट डाउनलोड गरी पोखराको महेन्द्र पुल नजिक ठूलो होर्डिङ बोर्डमा प्रयोग गरिएको रहेछ ।

ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस र फ्रेञ्च आर्मीमा धमाधम भर्ती हुँदैछ भन्ने विज्ञापनमा प्रयोग गरिएको त्यो फोटो देखेर कार्कीले भण्डारीलाई फोन गरी सोधे । अभिषेकलाई पनि त्यसको कुनै जानकारी रहेनछ !

उनी भन्छन्, “तालिम केन्द्रका नाउँमा पनि धेरै दलालहरूले आफ्नै दाजुभाइलाई ठग्दा रहेछन् !”

झण्डै १५ वर्षदेखि फ्रेञ्च लिजनमा कार्यरत लक्ष्मण गगन नेपाली युवाले आधिकारिक सूचनाका लागि आधिकारिक स्रोतमा सम्पर्क नगरी दलालको कुरा पत्याउने भएकोले पनि ठगिने गरेको बताउँछन् । बाग्लुङ घर भएका गगन सन् २००४ मा जर्मनी गएका थिए । त्यहाँबाट फ्रान्स पुगे । त्यसबेला फ्रेञ्च लिजनमा २७ जना नेपालीमात्रै कार्यरत थिए । हाल करीब ८ सय नेपाली त्यहाँ कार्यरत रहेको उनी बताउँछन् । उनी भन्छन्, “यो इन्टरनेटको जमानामा दलालबाट ठगिनु भनेको कुनै पनि कुरामा सूचना नराख्नु हो । ठगीबाट जोगिन दलालको सम्पर्कमा आउनुअघि इन्टरनेटको माध्यमबाट अनुसन्धान गर्नुहोस् । ”

ज्वाइँ बनेर ठगी : तत्कालिन महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होमेन्द्र बोगटी

पछिल्लो समय फ्रेञ्च आर्मीको नाउँमा अर्कै खाले ठगीधन्दा पनि मौलाएको छ । कतिपय युवाले फ्रेञ्च लिजनरको नक्कली पहिचान बनाई सम्पन्न वर्गका युवतीलाई मायाजालमा फसाउने र तिनको परिवारबाट पैसा उठाई बेपत्ता हुने क्रम बढेको छ । प्रहरीका अनुसार, यस्ता ठगबाट पीडित कतिपय परिवारले उजुरी गर्ने गरेका छन् । कतिपय चाहिँ सामाजिक बेइज्जतीको डरले मौन बस्ने गरेका छन् ।

तत्तकालिन महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होमेन्द्र बोगटीले एउटा यस्तै ठगीको घटना सुनाए – काठमाडौंको एक सम्पन्न परिवारकी एक युवतीको भेट फेसबुकमार्फत् एक युवकसँग भयो, जसले आफूलाई फ्रेञ्च लिजनरको रुपमा चिनाए । उनीहरू दुबै प्रेममा परे । ती युवा विदेशबाट काठमाडौं आए । युवती उनलाई लिन एयरपोर्ट पुगिन् ।

प्लस टु मात्र पास गरेकी छोरीले फ्रेञ्च आर्मीमा कार्यरत श्रीमान् पाउने भएपछि उनको परिवार पनि दङ्ग पर्‍यो  । उनीहरूले ‘हुनेवाला ज्वाइँ’लाई घरमा राखेर सत्कार गरे । विवाह गर्ने दिन नजिकिए पछि ती युवाले आफ्नो खर्च सकिएको भन्दै सापटी पैसा मागे । युवतीको परिवारले आनाकानी नगरी पैसा दियो । पैसा पाएपछि ती युवा बेपत्ता भए ।

पीडित परिवार सुरूमा त आफ्नो बेइज्जत हुने डरले मौन बस्यो । पछि भने उजुरी गर्न प्रहरीमा गयो । प्रहरीले अनुसन्धान गर्दा ‘फ्रेञ्च आर्मीमा छु’ भन्दै अन्य युवाले पनि सम्पन्न वर्गका युवतीलाई मायाजालमा फसाई ठग्ने गरेको रहस्य खुल्यो । उनीहरूले फेसबुकमा फेक आइडी खोलेर फोटोसपबाट फ्रेञ्च आर्मीको पोशाक लगाएको फोटो बनाई युवतीहरूलाई फसाउने रहेछन् ।

एक जना युवकले त ‘फ्रेञ्च आर्मीमा छु’ भन्दै ९ जना युवतीलाई शारीरिक तथा आर्थिक शोषण गरको बोगटीले बताए । ठगिने युवतीहरू पोखरा, धादिङ, गोर्खा र काठमाडौंका रहेको तत्कालिन बोगटीले(एसपी) बताए ।

फ्रेञ्च लिजन : एक लडाकु दस्ता

नेपाललगायत १४० भन्दा बढी देशका ९० हजार युवा कार्यरत रहेको फ्रेञ्च फरेन लिजनले विश्वकै एक खतरनाक सैन्य दस्ताको पहिचान बनाएको छ । फ्रेञ्च आर्मीले यो दस्तालाई युद्ध र प्राकृत्तिक सङ्कटजस्ता विभिन्न जोखिमपूर्ण मिसनमा पठाउने गरेको छ । फ्रेञ्च लिजनको मिशनमा खटिएका बेला दुई नेपालीले ज्यान गुमाइसकेका छन् । उनीहरू हुन् – ३० वर्षीय किशनबहादुर थापा र २६ वर्षीय लालबहादुर खपाङ्गी ।

फ्रेञ्च फरेन लिजनमा कर्पोरल पदमा कार्यरत थापाको सन् २०११ मा अफ्गानिस्तानको तगाब जिल्लामा भएको एक लडाइँमा मृत्यु भएको थियो । फ्रेञ्च लिजनमा कार्पोरल पदमै कार्यरत खपाङ्गीको भने फ्रान्समै एक हिमस्खलनमा परी मृत्यु भएको थियो ।

यस्तो जोखिमपूर्ण सैन्य दस्तामा नेपाली युवा भर्ना भइरहे पनि फ्रेञ्च लिजनको सम्बन्धमा नेपाल र फ्रान्सबीच कुनै सन्धि, सम्झौता वा औपचारिक वार्ता भएको छैन । नेपालीहरू व्यक्तिगत रुपमा जोखिम मोलेर फ्रेञ्च लिजनमा भर्ती हुँदै आएका छन् ।

फ्रेञ्च लिजनले लामो इतिहास बोकेको भए पनि यसमा नेपाली युवा भर्ती हुने क्रम भने लामो छैन । करीब दुई दशकअघि सम्म पनि फाट्टफुट्ट संख्यामा मात्रै नेपाली युवाहरू फ्रेञ्च लिजनमा थिए । हाल झण्डै ८ सय नेपाली युवा यो सैन्य दस्तामा कार्यरत छन् । तर, यसबारे नेपाल सरकारलाई औपचारिक जानकारी छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल नेपाल र फ्रान्स सरकारबीच फ्रेञ्च लिजनमा नेपाली युवाको भर्ती सम्बन्धी कुनै सम्झौता नभएको प्रष्ट पार्छन् । भन्छन्, “नेपालीहरू फ्रेञ्च लिजनमा भर्ना भएको औपचारिक जानकारी छैन । यसैले, उनीहरूको मृत्युबारे पनि औपचारिक जानकारी आउँदैन ।”

नेपालका लागि फान्सका राजदूत फ्रान्सेइस्–जेभियर लूगर पनि नेपाल र फ्रान्सबीच फ्रेञ्च लिजनको विषयमा कुनै एमओयू नभएको बताउँछन् । उनी भन्छन्, “फ्रेञ्च लिजनमा जान चाहने नेपाली युवाका लागि हामी आफ्नो तर्फबाट कुनै सहजीकरण पनि गर्दैनौँ ।”

नेपालका लागि फान्सका राजदूत फ्रान्सेइस्–जेभियर लूगर

लूगरका अनुसार, फ्रेञ्च लिजनमा भर्ती भएका नेपालीमध्ये करीब ५५० जतिले फ्रान्सको नागरिकता समेत लिएका छन् । उनी फ्रेञ्च आर्मीमा भर्ती हुन कसैको भनसुन नलाग्ने भएकाले कुनै दलालको पछाडि नलाग्न पनि नेपाली युवालाई आग्रह गर्छन् ।

फ्रेञ्च लिजनमा भर्ती हुन इच्छुक नेपाली युवालाई उनको सल्लाह छ – “तपाईंलाई पनि फ्रेञ्च लिजनमा भर्ना हुने रुचि छ भने आफैं यसको वेभसाइटमा गई सही सूचना लिनुहोस् । यसको प्रक्रिया राम्ररी बुझेर मात्रै भर्ती हुने प्रयास गर्नुहोस् । मध्यस्थकर्ता (दलाल)को पछि नलाग्नुहोस् ।”

मानव तस्करी कि अवसर : नेपाली सेनाका पूर्व ब्रिगेडियर डा. प्रेम बस्न्यात

नेपाली सेनाका पूर्व ब्रिगेडियर डा. प्रेम बस्न्यात

नेपाली सेनाका पूर्व ब्रिगेडियर डा. प्रेम बस्न्यात शरणार्थीका रुपमा अवैध मार्गबाट यूरोप पुग्ने नेपालीहरू पनि फ्रेञ्च लिजनमा भर्ती भइरहेको बताउँछन् । डा. बस्न्यात भन्छन्, “जुन हिसाबले नेपालीहरू अहिले त्यहाँ गइरहेका छन्, त्यो एक प्रकारको मानव तस्करी हो ।”

तर, डा. बस्नेत यसका लागि फ्रान्सलाई दोष दिन नहुने विचार राख्छन् । भन्छन्, “उनीहरूले त अवसर उपलब्ध गराएका छन् । हामी ब्रिटिश गोर्खा, सिङ्गापुर पुलिस र इन्डियन आर्मीमा नेपाली युवा पठाइरहेका छौँ भने फ्रान्समा किन नपठाउने ? फ्रान्सले यसलाई वैधानिकता नदेला । त्यो उसको आवश्यकता नहोला । तर, नेपालले यसतर्फ ध्यान केन्द्रित गर्नै पर्छ । रेमिट्यान्स मात्र खाएर हुँदैन ।”

फ्रेञ्च लिजनमा भर्ती हुन इच्छुक नेपाली युवालाई दलालको ठगी र अन्य विभिन्न जोखिमहरूबाट सुरक्षित गर्न नेपाल र फ्रान्सबीच यस विषयमा औपचारिक छलफल एवं सम्झौता हुनुपर्ने डा. बस्न्यात बताउँछन् ।

भविष्य बनाउनेहरू

फ्रेञ्च लिजनमा भर्ती हुने कतिपय युवाले बीचमै जागिर छाड्ने गरेका छन् । कतिपयले चाहिँ लामो समय काम गरी आफ्नो आर्थिक अवस्था सुधारेका छन् । चितवनका माधव अधिकारीले ११ वर्ष फ्रेञ्च लिजनमा काम गरे । अहिले उनी नेपाल फर्केर चितवनको सौराहमा होटल चलाउँछन् । सन् २०१३ मा फ्रेञ्च लेजिनियर बनेका जुम्लाका राजेश ठकुरीले आफ्ना आमाबुवाका लागि काठमाडौंको थानकोटमा घर बनाइदिएका छन् । उनी भन्छन्, “मैले आमाबुवालार्ई सुख दिन सकेको छु, यसैमा मलाई सन्तुष्टि छ ।”

(यो स्टोरी मिडिया फाउण्डेसन र ह्यूम्यानिटीद्वारा सहयोगमा तयार पारिएको हो ।)