गजुरी गाउँपालिकाका बाढी पीडित परिवारलाई नेपाल ब्लु स्काई रेस्कक्यू टिमले ग्याँस सिलिन्डर सहित विभिन्न आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ ।
भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण धादिङ गजुरी गाउँपालिका विभिन्न बस्ती प्रभावित भएका छन् । बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी ७० थान भरीएका ग्याँस सिलिन्डर गजुरी गाउँपालिकाकालाई नेपाल ब्लु स्काई रेस्क्यू टिमले हस्तान्तरण गरेको हो ।
चिनियाँ नागरिक होङ जुनजेको सहकार्यमा नेपाल ब्लु स्काई रेस्क्यु टिमले उक्त राहत सामग्री गजुरी गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिएका छन् । राहत हस्तान्तरण गर्ने क्रममा चिनियाँ नागरिकले जुनजेले नेपाल–चीनको मित्रवत सम्बन्ध लामो समय देखि रहेको र अफठ्यारो परेको बेला सहयोग गर्ने बताए ।
राहत हस्तान्तरण कार्यक्रममा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीहरू पनि वितरण गरिएको थियो । जसमा ६० बोरा हिरा बास्मती चामल, ५६ थान साबेल, ११० थान बडी प्याक, १२८ थान सोलार लाइट, ५० जोडी जुत्ता, १५० जोडी पञ्जा, १०० थान बालबालिका तथा महिलाका कपडा, ४ थान ग्यालिन र २० प्याक गिफ्ट बक्स रहेका छन् ।
राहत उपलब्ध गराउने नेपाल ब्लु स्काई रेस्क्यु टिम सन् २०१५ को महाभूकम्पदेखि नेपालमा मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएको चीनको अनुभवी उद्धार टोली हो । राहत हस्तान्तरणका क्रममा उक्त टोलीले सशस्त्र प्रहरी बल (एपिएफ) क्याम्पको समेत भ्रमण गरी उद्धारसम्बन्धी अनुभव आदानप्रदान गरेका छन् । साथै सरसफाइ तथा उद्धारमा आवश्यक सामाग्री, साबेला लगायत सामग्री श्री भैरव गण गजुरी र इलाका प्रहरी कार्यालय, गजुरीलाई हस्तान्तरण गरेको पालिकाले जनाएको छ।