बेचबिखनमा परेका बालिका उद्धार गर्ने माही – Drishya Kathaa

बेचबिखनमा परेका बालिका उद्धार गर्ने माही

देवकी विष्ट, कञ्चनपुर, पुस

कञ्चनपुरकी महिला मानव अधिकार रक्षक समूहकी अध्यक्ष भगवती थापाले माहीलाई शेर भनेर बोलाउँछिन्।  ‘उनी यति निडर छिन् म त उनलाई शेर भनेर बोलाउँछु,’ उनले भनिन्।

 के बाघको मुखमा परिसकेको सिकार फुत्काउन सकिन्छ ?

 ‘भारतका कोठिबाट बालिकाहरूलाई फुत्काएर ल्याउनु पनि त्यस्तै हो, ’ माही भन्छिन्।

भगवती पनि ठान्छिन् ‘माहिले उद्धार गर्छु भन्ने ठानेका बालिकालाई झुक्याएर कोठिमै राखिरहनु पनि शेरकै मुखबाट सिकार फुत्काए जस्तै हो।

‘सुदूरपश्चिमको यो क्षेत्रमा बसेर गड्डाचौकी खुला सिमानाकामा वा त्यहाँबाट हुने मानवबेचबिखन विरूद्धको अभियानमा रातदिन खटेको देखेको छु,’ उनले भनिन्, ‘बेचविखनमा परेका महिला तथा बालबालिकालाई उद्धार गर्ने ठानेपछि त ठानिन् ठानिन्। कसैले रोक्न सक्दैन।’

भारतिय रेल्वे स्टेशनमा महेश्वरी(माहि) maiti nepal
भारतिय रेल्वे स्टेशनमा महेश्वरी(माहि)

सूदुरपश्चिमदेखि भारतका विभिन्न सहरहरूमा बेचिएका बालिकाहरूलाई उद्दार गर्ने काममा झण्डै २० वर्षदेखि खटिएकी छन्, कन्चनपुर वनगाउँ ५ कि महेश्वरी भट्ट। उनी आफ्नो कार्यक्षेत्रमा माही भनेर चिनिन्छिन्।

 १९ वर्ष अघिमात्र पनि माही लगायत सुदुरपश्चिका धेरै गाउँमा छोरीमान्छे घरबाट बाहिर एक्लै हिँड्ने कुरा नौलो थियो। खासमा  छोरीमान्छे बाहिरफेर एक्लै हिँड्न मनाही नै थियो। तर पनि छोरीहरू भागिरहन्थे। कोही अरूको झुक्यानमा परेर भाग्थे । कोही केही गर्ने रहरले भाग्थे। कसैलाई परिस्थितिले गाउँघरमा बसिखान दिन्नथ्यो। अझै भनौं पूर्व देखि पश्चिमसम्मका चेलीहरूलाई केहि न केहि बहानामा कंचनपुर नाका हुँदै जानथ्ये ।

तीमध्ये कतिपय बालिका तथा महिलाहरू बेचिएर भारतका विभिन्न सहरस्थित कोठिमा पुग्थे।

१९ वर्षअघि एकदिन माही पनि घरबाट निस्किइन्। उनी भने बेचिएका छोरीको उद्धार गर्ने अभियानमा जाँदै थिइन्। किनभने मानववेचविखन विरूद्ध काम गर्ने संस्था माइती नेपालमा उनले सामाजिक परिचालिकाको काम पाइन्।

माहि नावालिका उद्दारमा निकै माहिर छिन् । उनको जीवनको पहिलो केस नै अढाइ वर्षिया बालिका हुन् । उनलाई उद्दार गरेको वर्ष भने ठ्याक्कै सम्झना छैन । माहिको जीवनमा पहिलो रेस्क्यू अपरेशन आगराको कोठीबाट शुरू भएको हो।

एकदिनको कुरा हो । गड्डाचौकी नाका हुँदै भारत तर्फ एउटा महिला रूदै जाँदै थिइन् । सिमानाकामा माइती नेपालमा कार्यरत माहिको नजर पर्र्यो । उनले सोधिन् ‘किन रोएको ?’ यति भन्दैमा पीडित महिला भक्कानिदैं रून थालिन् । उनी त्यहि महिला थिइन । जो ९ महिना अगाडि गड्डाचौकी सिमानाकामै माहिको टिम सहितले सोधपुछ गरेको थियो । ‘त्यो बेला उनीसँगै सानीआमा, हजुरआमा र उनकी अढाइ वर्षिया छोरी पनि रहेको माहीले सम्झीइन् । धनकुटा घर भएकी पीडित महिलाले घटनाको बेलीविस्तार लाइन् ।

“आफ्नो माइतीमा आएकी थिइन् । सानीआमाले कपडाको व्यापार गर्ने र तिमी पनि घुमेर आउ भनेर आमासँगै ति महिलालाई आगरा लगिन् । आगरा पुगेर लामो समयसम्म छोरीले नघुमाएपछि सानीआमा र हजुरआमाको झगडा पर्र्यो । सानीआमाले आफ्नी आमालाई टिकट काटेर नेपाल पठाइन् । त्यसपछि उनकै घरमा रहेकी ति महिलालाई सानीआमाको श्रीमानले पटक पटक बलत्कार गरे । कसैलाई भनिस भने छोरीलाई मारी दिन्छुभनेर धम्की दिए र छोरीलाई आफ्नो कव्जामा राखे । त्यसपछि सानीआमाले संचालन गरेको कोठीमा दैनिक शरिर बेच्न लगाइयो । छोरीकोलागि भएपनि सानीआमाले भनेको मान्दै गर्दा ८ महिना बित्यो । त्यसपछि एउटा ग्राहकको सहयोगमा त्यो नारकिय कोठीबाट भाग्न सफल भएर नेपाल पुगिन् । नेपाल पुगेपछि पनि उनलाई छोरीको सम्झनाले सताइरह्यो । उनी पुनः भारतको आगरा फर्कदा माइती नेपाल पुगिन् । “

उनले आफ्नो कहानी माहीलाई सुनाएपछि माहिलाई सहि नसक्नु भयो । उनकी छोरीलाई उद्धार गरि ल्याउने वचन दिएर माइती नेपालले माहीलाई उक्त काम सुम्पियो। सिमा नाकाबाट बेचिन सक्ने खतरामा परेका किशोरी वा महिलालाई कसरी पहिचान गर्ने भन्ने कुरा त उनले सिकेकै थिइन्। कोठीमा उद्दार गर्ने व्यवहारिक तरिका भने उनलाई थाहा थिएन।

माहिले ती पिडित महिलालाई पनि साथमा लिएर गइन्। अनि आगराको स्थानीय प्रहरीसँग कुरा गरिन्। माइती नेपालसँग भारतको प्रहरीले सहकार्य गर्दै आएको थियो। अहिले पनि गर्छ। ति अवोध बालिकाकी आमा, महिला प्रहरी कोठीमा प्रवेश गरे । माहीले यसअघि कहिले पनि कोठीमा छिरेकी थिइनन् ।

‘ ‘पहिलो पटक भएकोले मेरो पुरै शरिर कापीरहेको थियो । मुटुको धड्कन यति बढेको थियो कि बालिकालाई कोठीमा देखेपछि प्रहरीलाई फोन गर्दा डरले नम्बर नै देखिन । आँखा धमिलो भयो । मोवाइल हातबाट खस्ला झै कापीरहेको थियो । बल्ल बल्ल प्रहरीलाई कल गरे ।’ प्रहरीले घर घेरा हाल्यो। कोठी संचालक सानीआमालाई पक्रियो । ति महिलालाले अढाइ वर्षिया छोरी काखमा च्यापिन् । रुन थालिन् । हामीले ति आमाछोरीलाई नेपालमा ल्यायौं । पक्राउ पश्चात मुद्दा चल्यो तर आगराका सांसदले नै उनलाई छुटाए ।

पहिलैपटकको प्रयासमा आमाछोरी भेट्दा खुव रोए दुवै जना,’ उनले भनिन् ‘ती बालिका आमाको काखमा पुग्दा उनीहरू खुशी भएको क्षण अहिले पनि मेरो आँखामा ताजै छ। म पनि कम खुसी थिइनँ। मलाई खुबै हलुंगो भएर आयो।‘

यसरी नै माहीले यो २० वर्षमा नेपालबाट भारतमा बेचिएका ६७ नाबालिकाहरूलाई उद्धार गरिसकेकी छन्।

माहीले सामाजिक परिचालिकाकोरूपमा माइती नेपालमा काम सुरू गरेकी थिइन्। सामाजिक परिचालिका हुँदै सुपरभाइजर, सहायक संयोजक,कार्यवाहक संयोजक भएपछि दिल्लीमा बसेर काम गर्न पाइन्।   महेश्वरीले करिब दुई वर्ष माइती नेपालबाट दिल्लीमा रेस्क्यू अपरेसन र स्वदेश फिर्ती प्रतिनीधि भएर काम गरिन्। सो समय स्थानिय संघसंस्थया, प्रहरीप्रशासन र सुरागीहरूसँग सम्बन्ध राम्रो बनाइन्।

 अहिले उनी कञ्चनपुरस्थित माइतीनेपालको कार्यक्रम संयोजकका रूपमा कार्यरत छिन्।

 उनले काम गरेका यी वर्षहरूमा धेरै मुस्किलहरू आए। अरू मुस्किलको समाधान खोज्न माहीलाई त्यति गाह्रो भएन। तर जसको उद्धार गर्न लागेको हो उनीहरू नै माहीको कुरा सुन्न तयार नहुँदा भने उनलाई बहुतै मुस्किल भयो।

 ‘कहिलेकाहीँ कोठीमा रहेका नाबालिकाहरू आउन मान्दैनन् किनभने कोठीको मालिकमालिक्नीले अनेक लोभलालच र डर देखाएर उनीहरूको दिमाग घुमाइदिएका हुन्छन्। त्यहि भएर त्यहाँबाट बाहिर ल्याउनका लागि सम्झाउन र विश्वास दिलाउन निकै मुस्कील हुन्छ,’ माहीले

यो क्षेत्रमा काम गर्दै जाँदा उनलाई धेरैले चिने। मानवबेचविखन गर्ने तस्कर र दलालले समेत उनलाई चिन्ने नै भए। दलालका आफन्त वा उनका नजिकका मानिस केस मिलाइ दिनुस् भनेर पैसा घुस दिन पनि आँउने गरेको उनले सुनाइन्।

 मुख्य दलाल कहिले पनि फेला पर्दैन। उ अगाडी नै आउँदैन। आफन्त, नेता वा समाजका मान्छे मार्फत काम गराउँछन्।

 अहिलेसम्म जति पनि उददर गरेको घटनामा बेच्ने व्यक्ति समातिए उ कसै न कसै गरि शक्तिशाली मानिसँग जोडिएकै हुने आफूले पाएको माहीको अनुभव छ।

 बेङलोरको कोठीबाट एकजना पिडितलाई उद्धार गरेर ल्याएपछि बेच्ने तस्कर दलाल विरूद्ध जाहेरी पर्यो। उक्त जाहेरी फिर्ता लिन, उल्टो बयान गराउनका लागि धेरै दबाब आएको उनी सम्झिन्छिन्।

‘त्यो बेला त दबाब,धाक,धम्की धेरै नै आयो। यति सम्म कि एकजना नेताले कति पैसा चाहियो भनेर सोधेका थिए,’ माहीले भनिन्।

 ‘तिमीले माइती नेपालबाट कति नै पैसा पाउँछ्यौ र खुरूखुरू पैसा राख र यो मुद्दा मिलाउ भनेका थिए कति नै पाउँछ र भनेर पैसाको लोभ देखायो।’

महिला अधिकार रक्षक समूहकी अध्यक्ष थापा बेचिएका बालिका किशोरी वा महिलालाई उद्धार गर्नु आफैमा चुनौतिपूर्ण काम भएको बताउँछिन्।

 ‘रेडलाइट क्षेत्रमा गएर चेलीहरूको उद्दार गर्नु निकै चूनौतिपूर्ण कुरा हो। कहिले त ज्यानकै जोखिम पनि मोल्नुपर्ने हुन्छ,’ उनले भनिन्।

भारतको रेडलाइट क्षेत्रबाट नावालिकाहरूलाई उद्धार गर्दा माहिको पनि धेरैपटक ज्यान जोखिममा परेको छ।

जीवनमा दुईवटा घटना आफूले कहिलै नबिर्सने माहि बताउँछिन्।

 सन् २०२३ ,जनवरी १०। दिल्लीको, जिवी रोड ।

सुराकीले उनलाई सूचना दिएका थिए९सुर्खेतकी एक किशोरीलाई तस्करहरूले जिवी रोडस्थित कोठीमा पुर्याएका छन्।

 त्यही सूराकको आधारमा उनी जिवी रोड पुगेकी थिइन्।को त्यो कोठिमा पुगेकी थिइन्। कोठिको पहिलो तलामा पुगिसक्दा माहोल बिग्रियो। उनीसँगै गएका अरू साथी भागेर बाहिर आए। तर माहीलाई कसैले च्याप्प समात्यो। पछि फर्केर हेर्दा त्यही कोठिमा काम गर्ने महिलाहरू थिए। उनले चाँही  मास्क लगाएकी थिइन्। महिलाहरूले उनलाई गर्नुसम्म गाली गरे। मास्क खोलिदिए अनि भिडियो खिच्न थाले। उनी चुपचाप बसिन्। महिलाहरूका गाली सुनेर बसिरहिन्। खासमा उनी के गर्ने भन्ने मेसो नपाएर रनभुल्ल परिन्। बाहिर गएका साथी उद्धार गर्न आउँछन् कि भन्ने आश बाहेक उनीसँग केही थिएन। बरू त्यो बेला उनले ती किशोरी को हुन् भनेर पत्ता लगाउन थालिन्। झण्डै  ३ घण्टापछि मात्रै स्थानीय प्रहरी उनी थुनिएको ठाउँमा आयो। र रेस्क्यु गर्यो। माहिले भने ती किशोरीलाई तानेरै ल्याइन्।

 ‘ज्यान जोखिममा त थियो तर ती किशोरीलाई त्यस्तो नर्कबाट छुटाउनु मेरो धर्म हो। मैले आखिरमा छुटाएरै ल्याएँ,’ उनले भनिन्, ‘यो घटना त म कहिलै विर्सिने छैन।’

 सन् २०२३, डिसेम्बर २७ को अर्को घटना पनि उनको जिन्दगीमा विर्सिनसक्नु छ।

उनी मुम्बई कामतीपुरा रेकी गर्न जाँदैथिइन्। मुम्बई सेन्टर दादरबाट चेम्बर ट्रेन स्टेशन पुग्न डेढ किलोमिटर थियो। कसैले माहिलाई ट्रेनबाट धकेल्यो। उनको हात ट्रेनको झ्यालमा पर्यो। चिच्याइन्। तर कसैले सुनेन। उनीसँगै भएका साथीहरूले कहाँ गइन् भनेर पनि खोजेनन्। जाडो महिना भएकोले उनले घुँडासम्मको बुट लगाएकी थिइन्। शरिरमा मोटो लुगा थियो। उनी झ्यालमा झुण्डिरहिन्। ५ इन्च ४ फिटकी माहिले घुँडा खुम्च्याउँदा पनि ट्रेनको पट्री छोइरह्यो। खुट्टा टेके पनि दुर्घटना हुन्थ्यो हात छोडेपनि हुन्थ्यो। आत्तिएकि थिइजन् तर उनले हिम्मत हारिनन्। डेढ किलोमिटर त्यसरी नै झुण्डिएपछि चेम्बुर स्टप आयो। रेलको गति मथ्थर भएपछि उनले हात छोडिन्। भूईंमा बजारिइन्। उनको अवस्था देखेर सबै चकित परे।

 त्यसपछि साथीहरूले उनलाई अस्पताल पुर्याए।

उनका घुँडा नराम्ररी ठोकिएका थिए तर भाँचिएका रहेनछन्।

भन्छिन् ‘राम्रो कर्म गरेमा भगवानले पनि बचाउने रहेछ। म बाँचे। त्यो दुर्घटनाबाट’ ।

 अहिले पनि चोटहरू लागेको ठाउँ दुखिरहन्छ।

‘यस्ता घटनाहरूले यस्ता दुखाइहरूले मलाई हतोत्साहित गर्दैनन्। अझै बलियो बनाउँछन्,’ उनले भनिन्।

 जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख एसपी चक्रराज जोशीले पहिलो पटक कञ्चनपुरमा पोष्टिङ भएर जाँदा माहिलाई चिनेका थिए। निकै साहसी महिलाकोरूमा माहिलाई चिनेको उनले बताए।

 ‘महेश्वरी जीलाई मैले धेरैवर्षअघि चिनेको हुँ। त्यो बेला मानवबेचविखन विरूद्धको अभियानमा धेरै नै महिला तथा किशोरीहरूको उद्धार गर्नुभएको मैले देखेको छु। अहिले म एसपि भएर यहाँ आउँदा पनि उत्तैकै जोसजाँगरका साथ काम गर्नुभएको देखेँ। निकै साहसी महिला हो उहाँ,’ उनले भने, ‘हामीले हिंसामा परेका महिलालाई उद्धार तथा संरक्षण गर्न उहाँसँग सहकार्य गर्ने गरेका छौँ।  सेफ हाउस चाहिएमा माइती नेपालमा महेश्वरी जीसँग सहकार्य गर्ने हो। सेफ हाउसमा आश्रित महिलाहरूलाई पनि राम्रोसँग मानसिक रूपले काउन्सिलिङ गर्नुहुन्छ।’

महेश्वरी भवानी भट्ट र जानकी देवी भट्ट  की जेठी सन्तान हुन्। उनका तीन बहिनी र तीन भाइ छन्। उनी हुर्कीँदै गर्दा घरको आर्थिक अवस्था कमजोर थियो। जेठी छोरी भएकाले सानैदेखि महेश्वरीको काँधमा काम गर्नुपर्ने जिम्मेवारी आयो। ९ वर्षको उमेर देखि नै बुबाको आर्थिक भारमा सहयात्री बन्न थालेको उनले बताइन्। उनी ९ वर्षको उमेरमा बिहानै उठेर बजारमा दाउरा बेच्न जान्थिन। दाउरा बेचेर घर फर्कदा सधैं ढिलो हुन्थ्यो। पढ्न उनलाई खुब मन लाग्थ्यो। दाउरासँगै किताबको झोला बोकेर हिँड्थिन्। महेश्वरी पढाइमा निकै अब्बल थिइन्।

दुखजिलो गर्दै पढिन्। पढ्दै काम गरिन्। काम गरेर कमाएको पैसाले उनले भाइबहीनीलाई पढाइन्। कमजोर भएको घरमा बलियो छानो हालिन्।

उनका बावुलाई भने उनको चिन्ता भइरहन्छ। ‘छोरीले गजब काम गरि। आफ्नो नाम बनाइ। घर थामी।  सबै ठिक छ। तर बिहे गर्नै मान्दिन। भोलीपर्सि एक्लै हुँदा,बिरामी हुँदा यसलाई कसले पानी सोध्ला भन्ने पीर लागिरहन्छ। विहे गरे त उसको साथी हुन्थ्यो मलाई ढुक्क हुन्थ्यो,’ उनले भने।

माहीले भने बुवाआमाको चिन्ता सुनेर मुसुक्क हाँस्छिन्। ‘खेल्ने, घुम्ने प्रेम गर्ने र विवाह गर्ने उमेरमा जिम्मेवारीले थिच्यो। आफ्नो बारेमा सोच्ने फुर्सद नै भएन। अब विवाह गर्ने इच्छा नै छैन,’उनले भनिन्, ‘अब  मेरो जीवन समाजकोलागि हो।’