देवकी बिष्ट, कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की ४५ वर्षीय सीता (परिवर्तित नाम) १७ वर्षकै उमेरमा विहे भएको थियो । विहे भएको १० वर्षपछि उनका श्रीमानले अर्को विहे गरे।
उनले सौता भित्राउने श्रीमान विरूद्ध उजुरी गर्नसम्म सकिनन्। उनको मौनताको कारण थियो, सन्तान नहुनु।
श्रीमान समाजमा गन्यमान्य थिए उनी साक्षरमात्र थिइन्। पढेलेखेका/ जानेबुझेका श्रीमानले पनि उनको उपचार गर्नुभन्दा दोस्रो बिहे गर्नै सजिलो ठानेपछि र त्यसमाथि बच्चा पाउन नसकेकी भनेर परिवार र समाजले गरेको तिरस्कार र अपमानले उनलाई थिचिसकेको थियो।
‘उनले दोस्रो विहे नगर्दै पनि परिवार र आफन्तले गर्ने तिरस्कार र अपमान कम थिएन। कान्छी श्रीमतीबाट दुई छोरा जन्माएपछि त ममाथि हिंसा र अपमान थपियो,’ उनले भनिन्, ‘श्रीमान बोल्नै छोडे। त्यसपछि त मलाई घर घरजस्तो लाग्न पनि छोड्यो।
सन्तान नजन्मिएकै कारण आफ्नो खुसी खोसिनु, अपमानित भइरहनु अपमान हो भन्ने थाहा भएपनि त्यसका विरूद्ध बोल्न उनी सकिरहेकी छैनन्।
‘जीवनका सबै रंग, सबै खुशी म बिर्सिसकेँ। के गर्नु !,’ सीताले भनिन्।
वनगाउँ–५ की द्रोपती (परिवर्तित नाम) को कथा पनि उनको जस्तै छ।
कक्षा १० पढ्दै गर्दा उनले प्रेम विवाह गरेकी थिइन्। आफ्ना श्रीमान र उनको परिवारसँग उनी खुब खुसी थिइन्। विहे गरेको केही वर्षपछि बच्चा पाउने दबाब आयो। उनी अझै त सानी थिइन्। २२/२३ वर्ष पुगेपछि भने आफन्त समाजले किन बच्चा नजन्मिएको भनेर प्रश्न गर्न थाले, त्यसपछि आफूलाई माया गर्ने श्रीमान फेरिन थाले।
श्रीमानले रक्सी खाएर उनलाई जथाभावी गाली गर्न र कुट्न सुरू गरे।
विस्तारै दोस्रो बिहे गर्न दिनुपर्ने दबाब आयो। उनले भने श्रीमानश्रीमतिकै उपचार गराउन चाहन्थिन्। तर श्रीमान मानेनन्।
बरू उनका श्रीमानले दोस्र विहे गरे। दोस्रो श्रीमतीबाट पनि सन्तान नजन्मिएपछि बल्ल उनका श्रीमान उपचार गराउन भारत गए। समस्या श्रीमानमै देखियो।
‘मैले उपचार गर्न चाहन्थेँ त्यो बेला उहाँ मान्नुभएन , टुलुटुलु हेर्न बाहेक म के गर्न सक्थे?’ द्रोपती भन्छिन्।
पछि उनीहरूले आइभीएफ विधिबाट सन्तान जन्माए। द्रोपतीलाई भने बच्चा जन्माउन नसकेकी भन्ने दोष लगाउँछन्।
श्रीमानले दिएको मानसिक र शरिरिक पीडा खप्न नसकेपछि उनी अहिले माइतीमा बस्छिन्।
नेपाली समाजमा बच्चा जन्माउने योजना गरेपछि पनि गर्भधारण भएन भने घरपरिवार,नाता सम्बन्ध र समाजमा पनि बच्चा नहुनुको मुख्य दोष महिलालाई नै लगाउने गरिन्छ। जबकी आफूलाई पनि बाँझोपन हुन्छ भन्ने कुरा अहिलेसम्म पुरूषले स्विर्कान तयार देखिन्नन्। न त समाजले नै पुरूषको दोष हुन्छ भनेर मान्ने गर्छ।
द्रोपतीको अनुभवले पनि पुरूष बच्चा जन्माउन नसक्ने हुन्छन् भन्ने कुरा पुरूष स्वयं र समाजले नस्वीकार्ने गरेको देखाउँछ।
महिला हिंसाको कारण बाझोपन

कञ्चनपुरकी महिला मानव अधिकार रक्षक संजलकी अध्यक्ष भगवती थापाका अनुसार बच्चा नजन्माए महिलाहरू हिंसाको सिकार हुने गरेको गरेको बताउँछिन्।
‘बच्चा नभएका महिलालाई समाजले यस्तो अवस्थामा पनि पुर्याउँछ कि उनीहरू आफैलाई दोष दिएर बसेका हुन्छन्। हिनताबोधले ग्रसित बनाएपछि उनीहरूमाथि शारिरिक र मानसिक दुवै हिंसा गरिन्छ,’ उनले भनिन्,’ केहीवर्षपहिले आफ्नो संस्थामा बच्चा नभएका कारणले बहुविवाह र हिंसा भोगीरहेका महिलाहरू धेरै आउँथे अहिले भने कम आएको उनले बताइन्।
‘बच्चा नहुँनुमा पुरूषको पनि कमी हुन्छ तर महिलालाई मात्रै आरोप लगाइन्छ। निसन्तान महिलालाई समाजमा गरिने गाली पनि हिंसाकै रूप हुन्,’ भगवतीले भनिन्, ‘हामीकहाँ बच्चा भएन भने पुरूषको दोस्रो विवाहमा जोड दिने चलन छ। तर दम्पति नै गएर उपचार गर्ने सोचाइ कसैको आउन्न। कुनै एकलाई बाँझोपन देखिए धर्मसन्तान पाले पनि त हुन्छ नि। ’बच्चा नहुँदैमा महिलाले शान्तसँग बाच्न नपाउने भन्ने हुँदैन । यदि यस्तो भएमा मानवअधिकारको उल्लङ्घन मानिन्छ ।
बाँझोपन महिलालाई मात्र हुँदैन पुरूषलाई पनि हुन्छ
महिला र पुरूषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब एक वर्षसम्म वा त्योभन्दा बढीको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई निःसन्तान वा बाँझोपन भनेर बुझिन्छ।
तर नेपालीसमाजमा भने बाँझोपनाको समस्या महिलाको मात्र हो भन्ने बुझाइ छ। त्यही कारण स्वास्थ्य जाँचमा समेत पुरूषले उदासीनता देखाउने गरेका उदाहरण टन्न भेटिन्छन्।

महिलारोग र प्रसुती विशेषज्ञ निलिमा अमात्य श्रेष्ठ सन्तान नजन्मेर मानसिकरूपले गाह्रो झेलिरहेका महिला आफूले धेरै देखेको बताउँछिन्।
उनका अनुसार बच्चा नजन्मिनुमा धेरै कारण हुन्छन्। परिवार। आफन्त र श्रीमानले दबाब दिएरमात्र बच्चा जन्मिने होइन। कहिले त्यही दबाबकै कारण भएको तनाबले बच्चा कन्सिभ गर्न नसक्ने हुन्छ।
‘त्यही भएर बच्चा जन्मिएन भन्ने हुन थालेपछि पहिला महिलाहरूलाई काउन्सिलिङ चाहिन्छ। बच्चा जन्मिएन भनेर महिला आफै मानसिक रूपले एकदमै विक्षिप्त हुन्छन्। काउन्सिलिङले धेरै महिलाको गर्भ बस्छ,’ उनले भनिन्।
‘कतिपय जोडीमा उपचारको अभावले सन्तान नजन्मिने मात्र होइन, समयमै थाहा नपाउँदा समस्या झनै गहिरो हुन्छ,’ उनले भनिन्, ‘उपचार हुन सक्ने कुरा हुन्छ नभएपनि बच्चा पाउने अरू धेरै प्रविधि विकास भएको छ।त्यसैले महिलालाई दोष दिनभन्दा उपचार लगायतका उपाय खोज्नु आवश्यक छ।’
नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार महिलालाई प्रजनन स्वास्थ्यको उपचार र परामर्शको अधिकार छ।
सरकारले संघीय अस्पतालहरूमा बाँझोपन उपचार सेवा विस्तार गर्न थालिसकेको छ । डा. अमात्य सुझाउँछिन,‘चाइल्ड एडप्सन (धर्मसन्तान ग्रहण) पनि एउटा विकल्प हो। श्रीमतीको उपचार नगरी अर्को विवाह गर्नु भन्दा चाइल्ड एडप्ट गर्दा खर्च पनि कम हुन्छ र खुसी पनि मिल्छ ।’
अमात्यका अनुसार नेपालमा १०० मध्ये ५–७ प्रतिशत जोडी बाँझोपनको सिकार छन् अर्थात १० मध्ये १ जना जोडी बाँझोपनको समस्या भोगिरहेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाँझोपन विश्वव्यापी स्वास्थ्य समस्याको चुनौतीका रूपमा रहेको जनाएको छ। डब्लूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या छ। अर्थात्, ६ जनामध्ये एक जना युवायुवती बाँझोपनको समस्याबाट प्रभावित छन् ।
अझ उच्च आय भएका देशमा बाँझोपनको समस्या भयावह बन्दै गएको छ। सन् २०२३ मा प्रकाशित सो अध्ययनले उच्च आय भएका देशमा १७.८ प्रतिशत र मध्यम तथा न्यून आय भएका देशमा १६.५ प्रतिशत युवायुवती बाँझोपनको समस्यामा रहेको देखाएको छ ।
नेपालमा बाँझोपनको उपचारको विभिन्न विधिहरू उपलब्ध भए पनि यसको उपचार जहाँतहीँ पर्याप्त मात्रामा नहुनु, स्वास्थ्य संस्थामा सही सल्लाह नपाउनुको कारण यो उपचार सबै सर्वसाधारणले उपभोग गर्न पाएका छैनन्। बाँझोपनको कारणहरूको बारेमा पर्याप्त जनचेतना पनि छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बाँझोपनको समस्या उपचार गर्ने र समस्या समाधानमा त्यति महत्व दिएको देखिन्न।
सरकारले निःसन्तान दम्पतीहरूको पहुँचमा टेस्टट्युब बेबी (अर्थात् आईभीएफ) प्रदेश तह र क्षेत्रीयस्तरसम्म पुर्याउन सके महिलामाथि हुने हिंसा कम हुने जानकारहरू बताउँछन् ।