स्वस्थानी व्रतकथामा लेखिएको लावण्य देश नेपालमा कहाँ छ ? – Drishya Kathaa

स्वस्थानी व्रतकथामा लेखिएको लावण्य देश नेपालमा कहाँ छ ?

सत्ययुगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलीङ्ग बनाएर व्रत बसिन् । निराहार ब्रत बसेर तपस्य गरेपछि मनोकाङ्क्षा पूर्ण भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा जन्म भएको हिन्दुधर्म ग्रन्थमा उल्लेख गरिएको छ । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकण्टार वनमा पुगेर महादेवको ध्यान गर्न थालिन् ।
यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । भगवान् विष्णुले पनि महादेव पति पाउन श्री स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी थिइन् । त्यसको फलस्वरूप पार्वतीले महादेव पति पाइन् । शिव पार्वतीको विवाह भइसकेपछि लोककल्याणका लागि परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ ।
स्वस्थानी शब्द ‘स्व’ र ‘स्थान’ गरी दुई शब्द मिलेर अन्त्यमा ‘ई’ प्रत्यय लागेर बनेको छ । यसको अर्थ स्वस्थानमा रहने देवी अथवा आफ्नै स्थानमा रहने भगवती भन्ने बुझिन्छ । अष्टदलका वरिपरि रहने अष्टमातृका चामुण्डा, महाकाली, वैष्णवी, ब्राहृमी, महेश्वरी, कौमारी, वाराही र इन्द्राणी का बीच त्रिशूल, तरवार, कमल र चक्र लिएर रहेकी देवीको स्वरूप बताइएको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा–आराधना गरिन्छ । व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याहृनकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् ।
विधिपूर्वक व्रत नबस्नेहरूले पनि आ–आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्दछन् । यसरी श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूणिर्माको दिनसमापन गरिन्छ ।
स्वस्थानीमा काठमाण्डौ देखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु) मा रहेका मणिशैल (शाली) नदीकिनारमा महिला तथा पुरुषहरू श्रीस्वथानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा रही आएको छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ ।
यस ठाउँमासयौं व्रतालुहरू पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थीहरू पनि स्नान र दर्शन आदिकालागि यहाँ पुग्ने गर्दछन् । सार्वजनिक बिदाको दिनमा श्रद्धालु भक्तजनहरूको ज्यादै भीडलाग्ने गर्दछ । यसैगरी पशुपति गुहृयेश्वरी, किराँतेश्वर, गौरीघाट, मृगस्थली आदि क्षेत्रमा महिनाभरि नै दर्शन एवं पूजन गर्नेहरूको भीड लाग्छ । करिब पाँचसय वर्षयता मात्र स्वस्थानी नेपालीमा लेखिन थालिएको शिवराज आचार्य कौण्डिन्यायनले लेख्नु भएको वैदिक धर्म मूल रूपमा भन्ने पुस्तकमा उल्लेख छ ।